अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १३ गते।
डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।
उहाँले संसद् विघटन गरी देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै बुधबारदेखि आमरण अनशन बस्ने निर्णय गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णय फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले बुधबारदेखि आमरण अनशन बस्ने घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।
डा. केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।