अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १६ गते।
चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ। भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ।
सो जहाज सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् ।
यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।