अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १ गते।
चितवनमा पुनः जेठ १३ गतेसम्म निषेधाज्ञाको समय लम्ब्याएको छ ।
यसअघि प्रशासनले वैशाख १५ गतेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
विवाह, व्रतबन्ध जस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न बन्देज लगाइएको छ । घरबाट गर्दा पनि १० जनाभन्दा बढी सहभागी नहुन र तोकिएका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ । यसअघि १५ जनासम्म सहभागी हुन छुट थियो ।

पहिलेको भन्दा पसल सञ्चालनमा केही खुकुलो गरिएको छ । खाद्य सामग्री, तरकारी, फलफूल, दूध डेरी, ग्यास पसल, पेट्रोल पम्पहरु हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । यी बाहेकका अत्यावश्यक व्यवसायका पसलहरु हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने प्रशासनले जनाएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, इन्टरनेट सेवा, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपन्छीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धी सेवाहरु पनि सञ्चालनलाई यथावत राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिमा वाणिज्य बैंकहरु सातामा तीन दिन मात्रै खोल्न दिने निर्णय गरेको छ । जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गराई वाणिज्य बैंकहरुलाई साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा दिन पाउने छन् । त्यसका लागि बैंकहरुले न्यूनतम कर्मचारी मात्रै खटाउनुपर्नेछ । अन्य दिन बैंक पूर्ण रुपमा बन्द हुने छ ।