आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै  बजेट  सार्वजनिक गर्नुपर्ने हुन्छ । यसपाली पनि जेठ १५ (शनिबार) नै बजेट सार्वजनिक हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारबाट दिउँसो ४ बजे अर्थमन्त्री पौडेलले भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

त्यस क्रममा विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति भने रहने बताइएको छ ।

अर्थ मन्त्रालयले कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई बजेटमा उच्च प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *