अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १८ गते।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा र एक दुइ स्थानमा अति भारि बर्षाको सम्भावना रहेको छ । बाँकी स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।