चीनबाट आठ लाख डोज कोरोना खोप नेपाल आईपुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असार २५ गते।

चीनबाट सरकारले आठ लाख डोज कोरोना खोप नेपाल ल्याएको छ ।

पहिलो लटमा ८ लाख डोज खोप लिइएको बताइएको छ । खोप लिन बिहीबार चालक दलका १२ सदस्यसहित बेइजिङ उडेको वाइडबडी शुक्रबार बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको थियो । सोहीअनुसार पहिलो लटमा ८ लाख डोज खोप ल्याइएको हो ।

अब बाँकी खोपहरु क्रमशः भित्र्याइने बताइएको छ । दोस्रो लटका लागि असार ३१ गते विमान बेइजिङ जाने तालिका छ ।

चीनबाट ल्याइने यो भेरोसेल खोपको पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई अर्को हप्तादेखि नै दिइने भएको छ । त्यसैगरी अन्य उमेर समूहका नागरिकले पनि क्रमशः खोप पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *