अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार ३० गते।
मोरङमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ ।
रंगेली नगरपालिका–५ आँपगाछी टोलका अरुण मण्डलको श्रीमती २५ वर्षीया खुस्बु मण्डलले दुईदिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् । त्यसपछि श्रीमान् २८ वर्षीय अरुण मण्डल, ससुरा ५० वर्षीय नागेश्वर मण्डल र सासु ४८ वर्षीया उर्मिला मण्डलले ब्लाङ्केटले घाँटी थिचेर हत्या गरेर गाडेका हुन् ।
नवजात शिशुलाई जन्मदिने खुस्वु समेत घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका श्रीमान् अरुण गत चैतमा मात्रै तीनवर्षपछि विदेशबाट घर फर्केका थिए । उनी फर्केको तीन महिनामै खुस्वुले बच्चा जन्माएकी थिइन् । त्यसपछि गर्भ स्वीकार गर्ने अवस्था नभएको भन्दै उनीहरुले ससुराली\माइती पक्षसँगका आमाबुबासँग मिलेर नवजात शिशुको हत्या गरेका हुन् ।
इलाका प्रहरी रंगेलीले नवजात शिशुको हत्या भएको खबर पाए लगतै उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।