अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १४ गते।
बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ ।
पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।
बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पुर्याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । उनका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।
पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन् । उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ ।