अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।
कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् ।
समिति सभापति जयपुरी घर्तीले कोरोनाका कारण परीक्षा स्थगित हुन तथ्यसंगत पुष्टि नहुने बताइन् । अन्य क्षेत्र सञ्चालन हुँदा पनि कक्षा १२ को परीक्षा भने स्थगित गर्नु उचित नभएको उनको भनाइ छ ।
त्यस्तै उनले कुनै बिकल्प नै नदिएर परीक्षा स्थगत गर्नु गलत भएको धारणा राखिन् । अब छिटो परीक्षा गरेर निकास दिन उनले सुझाव दिइन् । बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परिक्षाको सवै तयारी पूरा गरेको अवस्थामा अन्तिम समयमा परिक्षा रोक्न सीसीएमसीबाट निर्देशन आएको तर्क गरे ।
स्वास्थ्यसम्बन्धी सवै प्रोटोकल पूरा गर्नेगरि परीक्षाको तयारी भएपनि अचानक परीक्षा रोक्न भनिएको उनले बताए । बैठकमा समिति सदस्यहरुले कक्षा १२ को परीक्षा रोक्नुको कुनै कारण नरहेको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षाबारे छिटो निकास दिनुपर्ने बताए । उनले सकिन्छ भने एकै चोटी र सकिँदैन भने दुई चरणमा परीक्षा गराउन सकिने बताए ।