अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३ गते।
ड्राइभिङ लाइसेन्सका लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ।
कोभिड-१९ कारण बन्द भएको पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने छ। उनले भने‚ ‘लामो समयदेखि बन्द भएको नयाँ आवेदन दोस्रो साताबाट खोल्ने छौँ, त्यसपछि सेवाग्राहीले भर्न सक्ने छन्।’
विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुकाे भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ। विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ।