अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३ गते।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
ओमान भने नेपालविरुद्ध जारी सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । यस्तै ओमान नेपाललाई लगातार चौंथो भेटमा हराउँन चाहन्छ । लिग-२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो ।
ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ ।
लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।