अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ३ गते।
आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए ।
यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।