अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १२ गते।
सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ताले जानकारी दिनुभयो ।
दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।
दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा क्वरेण्टीन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको मन्त्रालयका सहप्रवक्ताले बताउनुभयो।
नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।