अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पुस १३ गते।
सिरहामा दुई दिनका लागि निषेधाज्ञा लगाएको छ ।
स्थानीय प्रशासनले जनमत पार्टीले केही दिन अघि देखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्व साधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलबार र बुधबार जिल्लामा निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले दुईदिन विहान ५ बजे देखि बेलुका ७ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाएको जानकारी दिए ।
पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज -पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् ।
तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -२) र -३) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।