अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २८ गते।
झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविर सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ भएको आगलागीमा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।
घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको शिविरका युवराज राईले बताए ।
आगलागीबाट छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगद, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब आठ लाख बराबरीको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो ।