अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २८ गते।
मलेसियाले कोरोना भाइरसको महामारी रोक्नका लागि संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् ।
कोरोनाको अवस्था हेरेर यो संकटकाल १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ ।
‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
यासिनले यसअघि गत अक्टुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए । त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।