अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३ गते।
अफगानिस्तानका राजदूतकी छोरीको अपहरण पाकिस्तानको राजधानी इस्लामावादमा भएको छ।
अफगान राजदूत नाजिब अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्।
अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। सो क्रममा उनीहरूले उनलाई कुटपिट गरेको खुलेको छ।
प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।
आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ। घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ।