अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ २ गते।
पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन् ।
एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा लकडाउन भएको हो।
यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने छ । बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ । लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उनले बताए ।
‘नियम प्रष्ट छ: घरमै बस्नुस्,’ कोस्टाले भने,‘सम्भव भएसम्म घरबाटै काम गर्नु अनिवार्य छ।’
पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ।
दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ। प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताएका छन्।