आजदेखि भारतमा कोरोनाविरुद्धको खोप सुरू हुँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ३ गते।

भारतको सरकारले आज (शनिबार) देखि त्यहाँका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेट जाँदा ‘टीकाकरण अभियान’ सुरूवात गर्नेछन्‌।

खोप अभियानको उद्घाटनलगत्तै प्रधानमन्त्री मोदीले भारतीय स्वास्थ्यकर्मीहरूसँग भर्चुअल रुपमा कुराकानी गर्ने कार्यक्रम छ । मोदीसँगको  कुराकानीमा देशभरका तीन हजारभन्दा बढी खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

चिकित्सकपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ। खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ। अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप लगाउन लागिएको हो। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने उल्लेख गरेको छ।

भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि सारेको छ। यसका लागि कोभिडशिल्ड १० लाख र कोभ्याक्सिन ५५ लाख डोज खरिद गरेको छ। भारतको जनसंख्या १ अर्ब ३० करोड करिब छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *