अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ ११ गते।

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा अन्तर्राष्ट्रिय विमानस्थलमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ।

उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त बिस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताएका छन्।

बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्।

‘जसले यो बिस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौं न त बिर्सने छौं,’ बाइडेनले भने,‘हामी तिमीहरूलाई फेला पार्नेछौं र यसको मूल्य चुकाउन लगाउने छौं।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भएकाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *