अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १२ गते।
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ।
कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ।
यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन। माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो।
एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो।
सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो।
फेसबुकका प्रमुख मार्क जकरबर्गले “मेटाभर्स” बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन्।
मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन्।
उनले अहिलेको नामले “सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने” भएकाले नाम परिवर्तन गर्नुपरेको बताए।