अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २४ गते।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले सगरमाथा नेपाल लेखिएको एक रुपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ।
साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का बुधवार देखी प्रचलनमा ल्याइने राष्ट्र बैङ्कले जनाएको छ।
सिक्काको अग्र भागमा वृत्ताकार चौसट्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ।
सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैङ्कले जनाएको छ।
सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अङ्ग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ।