अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १५ गते।
आज सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् ।
संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतको भनाई छ ।
सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको छ । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’
सरकारले बजेटमार्फत निजामती कर्मचारीहरूको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरूको छ । तर देश आर्थिक सङ्कटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बताएको छ ।