अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ९ गते।
जनकपुरधाममा आज दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।
मिल्स एरियास्थित एभरेष्ट बैंकबाट जनकपुरधाम उपमहानगरपालिका-१ कि शर्मिला यादव २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।
साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।
उनका अनुसार झोलामा रु. २ लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो । ‘आफू हिंडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर गए,’ शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।