मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक १६ गते।

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ।

कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

यो पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ। अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ।

मिथिलामा आज (कार्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश वध गर्नपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गर्नुभएको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।

कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल मान्यता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *