अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,वैशाख ३ गते।
कञ्चनपुरमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएको छ ।
महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ ।
धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।
प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन् । सोही क्रममा उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले धामीझाँक्री भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।