अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २९ गते।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेका रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित थिए ।
‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।