अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।
आजबाट काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाइएको छ । २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्ने अभियान समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रमका बीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक–अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए । ‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आइतबारदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।