अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २७ गते।
चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु आज नेपाल आउँदै छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार लीसहितको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि आउन लागेको हो।
उनी रूस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरियाहुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
सोमबार नै चिनियाँ नेता लीले सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नेछन्।
मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ।
बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छन्।
परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ।