प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २७ गते।  

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेलहरू हुँदैछन्।

त्रिवि क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने क्रिकेट एसोसिएसन नेपाल क्यानले जानकारी दिएको छ।

त्रिवि मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

यस्तै त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।

यसअघि सोमबार बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो भने एपीएफले प्रदेश–२ लाई पराजित गरेको थियो। 
यस्तै आजै हुने मुलपानी रंगशालाको पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ। यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *