अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १४ गते।
राजस्थान रोयल्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर जोस बटलर र यशस्वी जैसवालले द्रुत सुरुवात गर्दै पहिलो पाँच ओभरमा ६१ रन जोडे पनि छैटौं ओभरको पहिलो बलमा जोस हेजलउडले यो जोडी तोडेका थिए ।
यस बलमा यशस्वी जैसवालले १३ बलमा २१ रन बनाएर विराट कोहलीलाई टी–२० क्रिकेटमा आफ्नो १५० औं क्याच दिए । त्यसपछि कप्तान सञ्जु सामसन पिचमा आए र २१ बलमा २३ रन बनाए । बटलरसँग सञ्जुले ३९ बलमा ५२ रन जोडे।
यसपछि जोस बटलरले पनि यस आईपीएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए । योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको छ ।