अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ १८ गते।
अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याई पुर्याइएको छ।
धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभा यात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्याइएको हो ।
जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पुर्याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ ।
हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।
त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान-प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए ।
यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।