अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ९ गते।
विराटनगरमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
विराटनगरमा गत चैत १० गते मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । गत चैत ५ गते विराटनगरमा गरेको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । टाउकोमा चोट लागेका लिम्बु चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकामा १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।
आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।