अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ ५ गते।
मिथिलाञ्चलमा महिलाहरु आज बट सावित्री पर्व मनाउँदै छन् ।
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
आज बिहानै नुहाइ रातो, पहेंलोसहित विभिन्न रंगको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।
अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रंग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा ७ फेरो पहेंलो र रातो धागोले बेर्छन् ।
आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्कोपटक पतिको गोडामा जल चढाउँछन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।
मिथिलाञ्चल क्षेत्रमा खास गरी नवविवाहिताका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ ।