सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्वको मुख्य दिन

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ७ गते।

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्वको मुख्य दिन हर्षोल्लासका साथ मनाइँदै छ।

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।

सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *