अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ ७ गते।
भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण भएको छ ।
बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।
यो चन्द्रयानले ४० दिनमा आफ्नो यात्रा सम्पन्न गरेको छ। बुधबार साँझ चन्द्रमाका सतहमा चन्द्रयानको सफल अवतरण गरेपछि दक्षिण अफ्रिकामा सुरु भएको ब्रिक्स बिजनेस फोरममा सहभागी प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘ऐतिहासिक सफलता’ भएको बताएका छन्।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।
अहिलेसम्म अमेरिकी, रुस र चीनले चन्द्रमामा अन्तरिक्षयान अवतरण गराएका छन्। यसअघि सन् २०१९ मा पनि भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो तर सो यान दुर्घटनाग्रस्त भएपछि अभियान विफल भएको थियो।