अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ३० गते।
मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्वको तयारी शुरु भएको छ ।
छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ।
जनकपुरधामको गंगासागर, अंगराजसर, धनुषसागर, रत्नसागर, अग्निकुण्ड विशेष सजावट गरिने गरिन्छ । यी पोखरीहरूलाई नयाँ बेहुली झैँ सिँगार्ने चलन रहेको छ ।
छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताए। अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ।