अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भ्रमणमा भारत जाँदैछन् ।
प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
आजै दिल्ली आएपछि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार बिहान मोदीसँग औपचारिक भेटवार्ता गर्नुअघि बुधबार साँझ डोभालसँग भेटवार्ता हुन लागेको हो ।
यस्तै प्रचण्डले नेपाली समूदायका केही कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने राति नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन् ।
भोलि (जेठ १८ गते) बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन् ।
भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।