अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,वैशाख २ गते।
मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ ।
चैती छठ सुरु हुनपूर्व चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दसैँ) पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवीपीठमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन् ।