अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, साउन ३१ गते
आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराई दिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।