अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, साउन १६ गते
धनुषा जिल्लामा जारी कर्फ्यू आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५:०० बजेदेखि १०:०० बजेसम्मका लागि कर्फ्यू खुकुलो पारिएको हो। यस ५ घण्टाको अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्।
कर्फ्यूको समयमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी साधन र फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यक सेवाहरू भने निरन्तर सुचारु रहनेछन्।
त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी र विमानस्थल जाने तथा फर्कने यात्रुहरूलाई परिचय पत्र वा आवश्यक प्रमाणका आधारमा आवातजावतमा रोक लगाइने छैन।
प्रशासनले १० बजेपछि पुनः कर्फ्यूलाई पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न सबैमा आग्रह गरेको छ।