अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २४ गते।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा एक मन्त्री र ३ राज्य मन्त्री सहित ४ मन्त्रीलाई बर्खास्त गरिएको बताएका छन् ।
उनले समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई हटाएका हुन् ।

प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।विजय कुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किसोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरि योगेन्द्र यादव भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, उषा यादव आर्थिक मामिला राज्यमन्त्री र सरोज कुमार कुशवाहा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री यथावत रहेका छन् ।