अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ५ गते।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसमविद् शान्ति कँडेलले भनिन्, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।” उनका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा हुने सम्भावना रहेका उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।