दार्चुलामा शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ८ गते।

शिखर पूजन जात्राका अवसरमा दार्चुलाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। 

दार्चुलामा प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्दछ। 

मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।

हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ। शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष बताउँछन्।

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीयवासी बताउँछन्। मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि आज सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ। यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *