अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २७ गते।
बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । यो दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रुपमा सरसफाइ गरी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ ।
पशुबलि नचढाउनेले भने आजपूजा कोठामा काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।