स्थानीय तहको निर्वाचनमा आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २० गते।

निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ ।

नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिनुभयो ।

अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।

आयोगले मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने कार्यक्रम उक्त समयभित्र सञ्चालन गर्नेछन् । प्रवक्ता पौडेलले ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *