अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २६ गते।
१५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा सातौं दिन आज बिहीबार महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ ।
परिक्रमाका यात्री ध्रुबकुण्डबाट कञ्चन वनमा आएपछि होरी महोत्सव मनाउने परम्परा रहिआएको छ । त्रेतायुगमा भगवान राम र माता सीताले कञ्चन वन पुगेरै होली मनाएको सन्दर्भमा प्रत्येक वर्ष परिक्रमाको सातौं दिन होली मनाउने गरिएको छ । आजैको दिन देखि होलीको सुरुवात भएको समेत मानिन्छ ।
विहीबार कञ्चनवनमा विशेष होली महोत्सव मनाउंदै विश्राम गरेर शुक्रबार धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ ।
मिथिला परिक्रमामा सहभागीहरुले नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर लामो बाटो तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीवास गरी बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ ।