अनलाईन न्युजपाटी,कोहलपुर,समाचारदाता, मंसिर २२ गते।
एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले कर्फ्यू लगाउने अवस्था आएको बताए।”अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं,” उपाध्यायले भने। ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।
स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्।घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले अनलाईन न्युजपाटीलाई जनाएको छ।