अनलाईन न्युजपाटी,बारा,समाचारदाता, मंसिर २६ गते।
बाराबाट काठ चोरी मुद्दाका दुईजना फरार अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेका छन्।बाराको कोल्हवी नगरपालिका-९ बस्ने ५४ वर्षीय हरिचन्द्र चौधरी र कलैया उपमहानगरपालिका- २ बस्ने हरेराम महतोलाई पक्राउ गरिएको हो ।पक्राउ परेका चौधरीलाई तत्कालिन रौतहट जिल्ला एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय रौतहटले २०४९ साल जेठ २६ गतेको फैसला आदेशले खयर काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैया ५० पैसा जरिवाना ठहर गरेको थियो।इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उललाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।त्यसैगरी पक्राउ परेका महतोलाई जिल्ला अदालत बाराले २०७३ साल असार ९ गतेको फैसला आदेशले काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र रु.५ हजार ७ सय ८९ रुपैया जरिवाना ठहर गरेको थियो।उनलाई प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।पक्राउ परेका दुबैजनालाइ जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेश अनुसार उनीहरुलाई तोकिएको कैद सजाय भुक्तान गर्न कारागार कार्यालय बिरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।