अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २७ गते।
देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भागमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहरको चपेटामा परेका छन् ।बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।तराईँमा समयअगावै एक्कासि चिसो बढेर शीतलहर लागेपछि जनजीवन प्रभावित भएको छ ।अघिल्लो वर्ष पुस पाँच गतेदेखि सुरु भए पनि यसपटक मंसिर अन्तिम हप्तादेखि नै शीतलहर शुरु भएको हो । मध्यतराईका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाहरुमा बिहीबारदेखि नै घाम लागेको छैन ।शीतलहरका कारण ओस खसिरहेको छ भने केही स्थानमा पानीसमेत परेको छ । यस क्षेत्रको प्रमुख नगर जनकपुर, वीरगञ्ज, राजवीराज का पसलहरु ढिला गरी खुलेका छन् ।यस्तै हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् ।मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।